सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्न माग गर्दै आएका प्रा. डा. गोविन्द केसीले सरकारलाई दुई दिनको थप समय दिएका छन् । माग पूरा नभए सत्याग्रह सहित आन्दोलन सुरु गर्ने उनले चेतावनी दिएका छन् ।
डा. केसीले दसैँ बिदाका कारण माग सम्बोधन गर्न पर्याप्त समय नपुगेको भन्दै यसअघि दिएको सातदिने अल्टिमेटम थप गरेका हुन् ।
उनले आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटा विश्वविद्यालयमा एमबीबीएस सञ्चालन गर्न दिने निर्णय खारेज गर्न तथा नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्। साथै, निर्णय प्रक्रियामा संलग्न पदाधिकारीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न पनि उनले माग गरेका छन् ।