१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु हुँदै छ। कात्तिक २८ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशका नौ वटै जिल्लाबाट छनोट भएका २ हजार ४६४ खेलाडीले ३० विधामा प्रतिस्पर्धा गर्ने छन्।
प्रदेश खेलकुद परिषद्का अनुसार प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन हुनेछ। डडेल्धुरामा भलिबल, कैलालीमा १७ र कञ्चनपुरमा ७ खेलका प्रतियोगिता आयोजना हुने छन्।
छनोट प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमको टोलीमा समावेश गरिने छ।
प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएका छन्।