अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार सोही व्यवस्था गरिको हो ।
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र पठाएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीले नष्ट भएमा तथा अन्य कारणले प्रतिलिपि आवश्यक परेमा जुनसुकै जिल्लाबाट पनि सेवा लिन सकिने जनाएको छ ।
काठमाडौं उपत्यकामा भने प्रदेशअनुसार सेवा विभाजन गरिएको छ । काठमाडौंमा बागमती, गण्डकी र लुम्बिनी, ललितपुरमा कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरमा कोशी र मधेस प्रदेशका नागरिकलाई सेवा दिइने छ ।
नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग मिलेमा प्रतिलिपि जारी गरिनेछ। विवरण नमिलेमा, संशोधन आवश्यक भएमा वा नागरिकता शङ्कास्पद देखिएमा भने नागरिकता जारी भएको पुरानै जिल्लामा सम्पर्क गर्नुपर्ने छ ।