दशैंको लामो बिदाका कारण रक्तदान कार्यक्रम प्रभावित हुँदा देशभर रगतको अभाव देखिएको छ । अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटीले स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान गर्न विशेष आग्रह गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्त सञ्चार केन्द्रमा सबै रक्त समूहको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरबीसी) र एचएको मौज्दात सकिएको छ । यसले बिरामीका लागि आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताएका छन् ।
डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।