मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा ६६२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउबाट उक्त परिमाणमा उत्पादन भएको हो।
कार्यालय प्रमुख डा। लालमणि अर्यालका अनुसार यस वर्ष मुस्ताङमा हाइब्रिड र परम्परागत स्थानीय जातका गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। यसमध्ये उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र परम्परागत स्थानीय जातको स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन उत्पादन भएको हो।
उत्पादनको मूल्यतर्फ हाइब्रिड स्याउबाट २३ करोड छ लाख रुपैयाँ र परम्परागत स्थानीय स्याउबाट ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको उत्पादन भएको प्रारम्भिक विवरण छ।
कार्यालय प्रमुख डा। अर्यालका अनुसार स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरूले क्रप कटिङ विधिबाट औसत उत्पादन मापन गरेका थिए। उत्पादनको परिमाण यकिन गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समेत समन्वय गरिएको उनले जानकारी दिए।
उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने अनुमान गरिएको छ। त्यस्तै, १७ करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्लाभित्रै खपत हुने जनाइएको छ। जिल्लामा हाइब्रिड स्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँ र परम्परागत स्थानीय स्याउको मूल्य प्रतिकेजी १५१ रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्ष मुस्ताङमा छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५ दशमलव २९ प्रतिशत बढी स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ।
मुस्ताङमा हाल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ। जसमध्ये ७६ हेक्टरमा हाइब्रिड र ८४१ हेक्टरमा परम्परागत स्थानीय जातका स्याउ खेती गरिएको छ।