धनगढी । दार्चुलाको अपी हिमाल बेसक्याम्पमा आयोजना हुने उच्च हिमाली मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन धनगढी–११ को टोली शुक्रबार साँझ प्रस्थान गरेको छ। टोलीलाई एसपिए कलेज धनगढी र नेपाल फोटोग्राफर एसोसिएसन कैलालीले बिदाइ गरेका छन्।
अपिहिमाल गाउँपालिकाले आयोजना गर्ने ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत कात्तिक १८ गते धनगढी–११ र अपी–११ बीच समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको पिलकन्द मैदानमा प्रतियोगिता हुनेछ।
‘क्रिकेटको सहर धनगढी’ अभियानको सहकार्यमा आयोजना हुने प्रतियोगिताको उद्देश्य क्रिकेटमार्फत अपी क्षेत्रको प्राकृतिक सौन्दर्य र हिमाली पर्यटनको प्रवर्द्धन गर्नु हो। गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने पर्यटन उत्सव आयोजना गर्दैछ।