स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा विवाद चर्किएपछि बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्।
शनिबार बिहान स्वास्थ्य केन्द्र उद्घाटनका लागि आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो। अध्यक्ष पक्षधर र विपक्षी स्थानीयबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।
घाइते युवकको पहिचान खुल्न सकेको छैन। स्वास्थ्य केन्द्र उद्घाटन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा बारा पुगेकी थिइन्।
प्रहरीले घटनाबारे औपचारिक पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय सिमराबाट पुगेको टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ।