बडीमालिका दर्शन गरेर फर्किने क्रममा भारी हिमपातमा परेका कञ्चनपुरका दुई पर्यटक सम्पर्क विहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।
असोज ९ गते पाँच जनाको टोली बडीमालिका गएकोमा तीन जना फर्किसकेका छन्। फर्किने क्रममा छुट्टिएका मनिष र सागर शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्। सागरले अन्तिम पटक फोनमा आफू त्रिवेणी पाटनमा रहेको र साथी हराएको जानकारी गराएका थिए।
करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा भारी हिमपात भएपछि खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। दुवैको खोजीका लागि प्रहरी टोली परिचालन गर्ने तयारी भइरहेको छ।