अर्नब चक्रवातको प्रभावले हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ।
शुक्रबार बिहानदेखि परेको वर्षासँगै नाम्खा गाउँपालिका र सदरमुकाम सिमकोटका उच्च क्षेत्रमा हिमपात भएको हो। नाम्खाको नारा लेकमा तीन फिट र हिल्सा नाकामा दुई फिटसम्म हिउँ जम्दा चीनसँगको आवागमन बन्द भएको छ।
हिमपातका कारण हिल्सा–सिमकोट सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ। यसैगरी, नाम्खा गाउँपालिका–६ का तिल, हल्जी र जाङका बासिन्दा खाद्यान्न अभावको जोखिममा परेका छन्।
न्यालु लेकमा गत असोजदेखि जमेको हिउँ नपन्छाइएकाले लिमि क्षेत्रमा खाद्यान्न ढुवानी गर्न समस्या भइरहेको स्थानीयले बताएका छन्।