अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले ममताको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले ममताले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको दाबी गरेका छन्।
अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव फोहोरमा अटाउन शरीरका विभिन्न भाग काटेको र अवशेष तीनवटा फोहोरका झोलामा राखेर घरको ग्यारेजमा रहेको डस्टबिनमा फालेको बताएका हुन्। उनले शव व्यवस्थापनका लागि इलेक्ट्रिक आरा र चक्कुसमेत प्रयोग गरेको स्वीकार गरेका छन्।
भट्टका अनुसार सन् २०२४ जुलाई ३० मा पत्नीलाई बेडरुममा अचेत अवस्थामा भेटेका थिए। उनले सीपीआर दिने प्रयास गरे पनि तत्काल प्रहरी वा आपत्कालीन सेवामा खबर नगरेको बताए। आफूलाई पत्नीको मृत्युप्रति दोषी ठहर गरिने डरले शव लुकाएको उनको भनाइ छ।
उनले शव व्यवस्थापनका लागि आवश्यक सामान खोज्दै होम डिपो र वालमार्ट गएको तथा ममताको मोबाइल फोन नालीमा फालेको पनि अदालतमा बताएका छन्।
अदालतमा अभियोजन पक्षले भट्टको गुगल सर्च हिस्ट्री, घरेलु हिंसासम्बन्धी आरोप र घटनासँग जोडिएका विभिन्न प्रमाण प्रस्तुत गरेको थियो। सन् २०२३ को एउटा तस्बिरमा ममताको अनुहारमा चोटपटक देखिएको विषयमा प्रश्न गर्दा भट्टले आफूले कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे।
अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टले लामो समयसम्म प्रहरीलाई झुटो जानकारी दिएको आरोप लगाउँदै कडा जिरह गरेका थिए। भट्टमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग छ।
सन् २०२४ को गर्मीयाममा बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। प्रतिरक्षा पक्षले सोमबार पुनः केही प्रश्न गरेपछि आफ्नो पक्षको बहस तथा प्रमाण प्रस्तुत गर्ने जनाएको छ।