भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ८१ हजारभन्दा धेरै संक्रमित फेला परेको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या गत अक्टोबर २ यताकै सबैभन्दा उच्च हो । भारतमा सेप्टेम्बरको मध्यमा उच्च बिन्दुमा पुगेको संक्रमण त्यसपछि भने घट्न थालेको थियो । तर, यो क्रम फेब्रुअरीको मध्यसम्म मात्र कायम रह्यो । त्यसयता भारतमा दैनिक नयाँ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।
भारतमा कोरोना संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा फैलिएको छ । यो राज्यमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला पर्दा २४९ जना संक्रमितको मृत्यु भएको छ । यो राज्य भारतमा सबैभन्दा धेरै नयाँ संक्रमित फेला पर्ने मात्र नभई सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भइरहेको राज्य पनि हो । यद्यपि कर्नाटक, छत्तीसगढ जस्ता राज्यमा पनि उल्लेख्य मात्रामा कोरोना संक्रमण बढिरहेको छ ।
बिस्तारै संक्रमण नियन्त्रणको दिशातर्फ उन्मुख हुँदै गएको बेला नयाँ लहर फैलिएसँगै अहिले मानिसहरुमा कोरोनाको डर त बढेको छ नै, सरकारलाई पनि कोरोना नियन्त्रणको चुनौती बढेको छ ।