अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका ८ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले हत्या अभियोगमा पक्राउ परेका धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना कारागार चलान भएका छन्।
यस्तै २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना पनि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताएका छन्।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए।बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।
पक्राउ परेकाहरुले तस्करीको मटरमा अवरोध पुगाएपछि घरेलु हतिायरको प्रयोग गरी प्रहरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताउँदै आएको छ।

धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएका मटर व्यापारी भने धरौटीमा छुटेका छन् । मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेको जानकारी दिए।
अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो। हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन् भने एकजना अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।