धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ। बिहान ७ बजेर १२ मिनेटमा धनगढीबाट उडेको काठमाण्डौंमा जहाज मौसम खराव भएका कारण अवतरण गर्न सकेन। श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाण्डौंको आकाश खुलेको सूचनापछि मात्रै धनगढीबाट जहाज उडेको थियो तर काठमाण्डौंमा अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए।
अढाई घण्टासम्म जहाज आकाशमै रहेपछि यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५५ मिनेटमा धनगढीबाट उडेको श्रीको जहाज काठमाण्डौंमा अवतरण हुनुपर्ने हो। त्यसो नभएपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए ।
यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो । त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो । यात्रुहरु निकै आत्तिएका थिए । यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् ।
फर्केर ९ बजेर ३४ मिनेटमा भैरहवामा आपतकालीन अवतरण गरेको हो । ८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।