धनगढी/चैत २५ – रानाथारु समुदायमा प्रचलित विविध सांस्कृतिक पर्वहरूमा एकरुपता ल्याउने उद्देश्यका साथ नेपाल रानाथारु समाजद्वारा विशेष भित्तेपात्रो सार्वजनिक गरिएको छ। धनगढी उप–महानगरपालिका–८ को आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कमल सिंह रानाको सभाध्यक्षतामा भित्तेपात्रो सार्वजनिक गरिएको हो।

कार्यक्रममा रानाथारु पञ्चाङ्ग समितीका संयोजक तथा महासचिव तिर्थराज राना ,रानाथारु पञ्चाङ्ग समितीका सदस्य भंगी राना , सदस्य सागर राना , कार्यसमिति सदस्य लालमन राना र सदस्य श्यामु राना लगायतको उपस्थिति रहेको थियो ।
समुदायको मौलिकता झल्किने गरी तयार पारिएको उक्त भित्तेपात्रोमा रानाथारु जातिका सम्पूर्ण प्रमुख पर्वहरूलाई ‘अकासे निलो’ रंगमार्फत चिन्हित गरिएको छ। एक हजार प्रती प्रकाशन गरेको भित्तेपात्रोलाई कैलाली तथा कंचनपुर जिल्लाका सबै गाउँका भलमन्सा र जनप्रतिनिधिहरूलाई वितरण गर्ने तयारी गरेको छ । “यस अभियानमार्फत समुदायमा एकरुपता ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौं । लगत्तै कैलाली र कंचनपुर जिल्लाका सम्पूर्ण भलमन्सालाई सहभागी गराई एक भव्य सम्मेलनको आयोजना गरिने” भनेर महासचिव तिर्थराज रानाले बताए।

एकरुपता ल्याउनको लागि नेपाल र भारतमा बसोबास गर्ने रानाथारु समुदायले यसै भित्तेपात्रो अनुसार पर्वहरु मनाउन र रानाथारु समुदायमा सांस्कृतिक समन्वय, परिचय र गौरव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ भनेर संस्थाका अध्यक्ष कमल सिंह रानाले बताए ।