कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ मा उखु प्रदर्शनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीले सोमबार उक्त वडाहरुमा उखु कृषकहरुको उखु प्रदर्शनी गराएको हो । कृषि प्राविधिक, सञ्चारकर्मी तथा समन्वय समितिको संयुक्त टोली उखु कृषकहरुको खेतमै गएर अनुगमन गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीका अध्यक्ष नरेश रानाले जानकारी दिनुभयो ।
गतवर्षदेखि लालझाडी गाउँपालिकाका ६ ओटा वडा मध्ये १ देखि ४ नम्बर वडासम्म लागु गरिएको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४७ लाख ९९ हजार ३ सय १८ रुपैयाँ सरकारी अनुदान र २७ लाख १९ हजार ६ सय ६५ रुपैयाँ कृषक समन्वय समितिले व्यहोर्ने गरी जम्मा ७५ लाख १८ हजार ९ सय ८३ रुपैयाँ बजेट विनियोजन गरिएको समन्वय समिति लालझाडीका अध्यक्ष रानाले बताउनु भयो । पछिल्लो समयमा कृषकहरु उखु खेतीतर्फ आकर्षित भएपनि हात्ती लगायतका वन्यजन्तुहरुले उखु खेती नष्ट गर्ने गरेको कृषकहरुको गुनासो छ ।
व्यावसायिक उखु खेती गर्ने कृषकहरुले कृषि यान्त्रीकरण तर्फ आकर्षित भएको जनाएका छन् । परम्परागत कृषि प्रणाली भन्दा कृषि यन्त्र तथा उपकरण प्राप्त गरेपछि सहज भएको कृषकहरुको भनाइ छ । कृषकहरुको लागत मुल्य घटाएर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समितिमा आवद्ध व्यावसायिक उखु कृषकहरुलाई अनुदानमा यन्त्र तथा उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । उन्नत जातको उखु खेतीलाई प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले बिउविजन, मलखाद, विषादी, कृषि औजार वितरणसँगै आवश्यक सहयोगका लागि कृषि प्राविधिक समेत खटाएको छ ।