सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद सम्हाले लगत्तै प्रदेश सरकारलाई ‘फास्ट ट्र्याक’मा अघि बढाउने घोषणा गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भए लगत्तै उनले प्रदेशलाई लामो समय बजेटविहीन अवस्थामा नराख्ने भन्दै भदौ मसान्तभित्रै बजेट ल्याउने दाबी गरेका थिए । विभिन्न राजनितीक संगै प्रशासनिक झमेलाका कारण भदौ मसान्तमा बजेट ल्याउन नसकेको प्रदेश सरकारले असोजको दोस्रो साताभित्र बजेट प्रदेश सभामा प्रस्तुत गर्ने दाबी गर्याे । असोजको दोस्रो साता पनि सकिइसकेको छ । तर प्रदेश सरकारको हातमा भने अझै चालू आर्थिक वर्षको बजेट आएको छैन ।
प्रदेश सरकार लामो समयदेखि बजेटविहीन हुँदा त्यसको असर मन्त्रालयदेखि मातहतका कार्यालयसम्म देखिन थालेको छ । कार्यालय सञ्चालनका लागि आवश्यक दैनिक खर्च व्यवस्थापनमा समस्या आउन थालेको कर्मचारीहरूले बताउने गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा लामो समयसम्म तलब नपाउने अवस्था कर्मचारीका लागि थप कठिन बन्दै गएको छ ।