धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अब वन विज्ञान (फोरेस्ट्री)लगायत विषयको पढाइ हुने भएको छ।सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा नयाँ शैक्षिक सत्रदेखि विभिन्न प्राविधिक विषयको अध्ययन अध्यापन हुने भएको हो।
सुदूरपश्चिम विश्व विद्यालयका अनुसार वन विज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन, इन्जिनीयरिङ संकाय तर्फ अर्किटेक्चरल इन्जिनीयरिङ र जियोमेटिक्स इन्जिनीयरिङ विषयको पढाइ हुने भएको छ। त्यस्तै कृषि विज्ञान संकाय तर्फ पशु विज्ञानको पढाइ समेत हुने भएको हो।विश्व विद्यालयको कार्यकारी परिषदको फागुन २८ गतेको निर्णय अनुसार क्याम्पसलाई सो विषयको पढाइको तयारीको लागि पत्रचार गरेको छ।
सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित क्याम्पसमा व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान संकायमा पहिलैदेखि पढाइ हुँदै आएको छ।