चाडपर्व नजिकिएसँगै कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइने सामानमाथि निगरानी र नियन्त्रण बढाइएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका भन्सार छलीका सामान समेत बरामद गर्न थालेको छ ।
यसैक्रममा मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ३४ हजार ३५०रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै कञ्चनपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध पटाका बरामद गरेको छ । जिल्लाको बेदकोट नगरपालिका–७, गाउजी क्षेत्रबाट लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले करिब १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका अवैध पटाका बरामद गरेको हो ।
चाडपर्वका बेला सीमावर्ती क्षेत्रबाट दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामग्री भन्सार छली गरी भित्र्याउने क्रम बढ्न सक्ने भएकाले प्रहरीले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा निगरानी बढाएको जनाएको छ।
भन्सार छली गरी ल्याइएका सामान बरामद गर्ने क्रमलाई प्रहरीले आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।