दसैँ नजिकिँदै छ । गाउँघरमा घरआँगन लिपपोत गर्ने, नयाँ लुगा किन्ने र परिवारसँगै चाड मनाउने तयारी चलिरहेको छ । कतै पिङ हालिँदै छन् । कतै जमघटको योजना बन्दै छ । तर सुदूरपश्चिमको गौरीफन्टा नाकामा भने दसैँको यो उल्लासभन्दा फरक दृश्य देखिन्छ ।यहाँबाट कोही घर फर्किंदै छन् । त कोही घर छाडेर परदेशिँदै छन् । दसैँको मुखमा घर छाडेर भारत पस्नु उनीहरूको रहर नभई बाध्यता बनिरहेको छ ।
कतिपयका लागि त भारत जानु जीवनकै नियमित चक्रजस्तै बनेको छ । केही महिना गाउँमा बस्ने, खेतीपाती गर्ने अनि फेरि रोजगारीका लागि भारत जाने। वर्ष फेरिन्छ, चाडपर्व फेरिन्छन् । तर उनीहरूको रोजगारीको गन्तव्य भने उही रहन्छ—भारत।
दसैँ उनीहरूका लागि झन् भावुक समय हो। घर–घरमा जमरा राखिन्छ, नयाँ कपडा किनिन्छ, आफन्त जम्मा हुन्छन्। तर उनीहरू भने त्यही बेला घरको आँगन छाडेर परदेश जाने बाटोमा हुन्छन् ।
सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको यकिन तथ्यांक सरकारसँग छैन। खुला सीमाका कारण कति नेपाली रोजगारीका लागि भारत पुगे भन्ने तथ्यांक राख्न कठिन छ।
तर हरेक वर्ष ठूलो संख्यामा सुदूरपश्चिमेली रोजगारीका लागि भारत जाने गरेका छन्। कैलालीको धनगढी हुँदै त्रिनगर भन्सार नाका पार गरेपछि पुगिने गौरीफन्टा नाका उनीहरूको प्रमुख प्रवेशद्वारमध्ये एक हो। त्यस्तै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाका नाकाबाट पनि रोजगारीका लागि भारत जानेको संख्या ठूलो छ ।
भारत जाने जनशक्तिलाई स्वदेशमै रोक्न उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ । भारतबाट फर्किएका तथा रोजगारी खोजिरहेका युवालाई कृषि, उद्योग, पर्यटन र स्वरोजगारसँग जोड्ने योजना र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
प्रदेश सरकार र स्थानीय तहले रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै आए पनि चाडपर्वको मुखमै हजारौँ युवा रोजगारीको खोजीमा सीमापारि जानुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन ।