कैलालीको गौरीफण्टा नाकाबाट दसैँ मनाउन स्वदेश फर्किरहेका बाट अटो चालकहरुले मनपरी भाडा असुल गरेको पाईएको छ ।
गौरीफण्टा नाकाबाट धनगढीलगायत आसपासका क्षेत्रमा लैजाने क्रममा अटो चालकहरूले तोकिएको भन्दा अत्यधिक भाडा असुल्ने गरेको पाईएको हो । सामान्य अवस्थामा करिब ५० रुपैयाँ लाग्ने दूरीमा समेत अटो चालकहरूले यात्रुसँग ८ सय रुपैयाँसम्म भाडा माग्ने गरेको यात्रुहरुले गुनासो गरिरहेका छन् ।
नाकामा यात्रुको चाप बढेसँगै अटो चालकले आफूखुसी भाडा निर्धारण गर्दा भारतबाट घर फर्किएका नेपाली थप मारमा परेका छन्। लामो समयपछि परिवारसँग दसैँ मनाउन घर फर्किएका यात्रुहरू नाकामै महँगो भाडा तिर्न बाध्य भएका छन्।
यात्रुहरुले अटो चालकले आफूखुसी भाडा निर्धारण गरेको विषयमा सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवस्यक कारबाही गर्न माग गरेका छन् ।