सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।
चाडपर्व नजिकिएसँगै उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्य सहित साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्व लक्षित गर्दै प्रदेशका विभिन्न जिल्लामा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिरहेको हो ।
साल्ट ट्रेडिङका अनुसार कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा तथा बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजार मूल्यभन्दा प्रतिकिलो करिब २५ रुपैयाँसम्म सस्तोमा चिनी पाइने भएपछि पसलमा उपभोक्ताको भीड बढेको साल्ट ट्रेडिङले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख रूपबहादुर कुँवरका अनुसार तराईका सहुलियत पसलबाट १ जना उपभोक्ताले बढीमा पाँच किलोसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । पहाडी जिल्लामा भने प्रतिव्यक्ति ३ किलोसम्म चिनी बिक्री गर्ने व्यवस्था छ ।
त्यस्तै, सुपथ मूल्य पसलमा नुन प्रतिकिलो २४ रुपैयाँका दरले बिक्री भइरहेको छ । एक जना उपभोक्तालाई बढीमा छ किलोसम्म नुन उपलब्ध गराउने व्यवस्था गरिएको छ । खानेतेल, दाल र चिउरामा पनि प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइएको साल्ट ट्रेडिङले जनाएको छ ।
सुपथ मूल्य पसल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेका छन् ।