नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान खस्किँदै १७८औँ स्थानमा पुगेको हो ।
नेपालले पछिल्लो पटक गत मार्च ३१ मा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । लाओस सँगको उक्त खेलमा नेपाल पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बनमा परेको ६ दिनपछि नेपालले उक्त खेल खेलेको थियो ।
त्यसयता नेपाली फुटबल टोलीले कुनै अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाउन सकेको छैन । गत जुन २४ मा भने नेपाल फिफाकै निलम्बनमा परेको थियो ।
दक्षिण एसियाली टोलीतर्फ भारत १३८ औँ स्थानमा रहँदै शीर्ष स्थानमा यथावत छ । भारतले पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा घरेलु मैदानमा पानामा, ब्राजिल र उरुग्वेसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
दक्षिण एसियामा अफगानिस्तान १६८ औँ, माल्दिभ्स १७३ औँ, बंगलादेश १८२ औँ, श्रीलंका १८४ औँ, भुटान १९२ औँ र पाकिस्तान १९७ औँ स्थानमा छन् ।
एसियाली टोलीमध्ये जापान १७ औँ स्थानमा रहँदै शीर्ष स्थानमा छ । इरान २३ औँ तथा अस्ट्रेलिया २६ औँ स्थानमा छन् ।