बजेट प्रस्तुत गर्ने कार्यसूची सहित आज बिहान ८ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक दिउँसो ४ बजेसम्मका लागि सारिएको छ। सभामुख भीम भण्डारीका अनुसार बजेट बाँडफाँटमा मन्त्रीहरू बीच सहमति हुन नसक्दा बजेट सार्वजनिक गर्ने प्रक्रिया अनिश्चित बनेको हो।
अर्थ मन्त्रालयले बजेट तयार पारिसके पनि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। यसै विषयमा मुख्यमन्त्री खगराज भट्टले बैठक बोलाएका छन्।
तीन महिनादेखि बजेटविहीन रहेको प्रदेशमा बजेट प्रदेश सभाबाट ल्याउने वा अध्यादेशमार्फत जारी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि बजेट ल्याउने बाटो खुलेको थियो।