सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सरकारको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको करिब तीन महिनापछि प्रदेश सरकारले नयाँ बजेट ल्याएको हो । यसअघि गत असार १ गते नेपाली कांग्रेस नेतृत्वको सरकारले समान आकारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । तर, बजेटलाई लिएर उत्पन्न विवाद र त्यसपछि भएको सत्ता परिवर्तनका कारण उक्त बजेट पारित हुन सकेको थिएन ।
आइतबारको प्रदेशसभा बैठकले अघिल्लो सरकारले पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेपछि नयाँ बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।
त्यसपछि आर्थिक मामिलामन्त्री मल्लले चालु आर्थिक वर्षको नयाँ बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।