सुदूरपश्चिम प्रदेशमा नयाँ सरकारको बजेट पनि विवादमा परेको छ। आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रस्तुत गरेको ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रति सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरूले असन्तुष्टि जनाएका छन् । बजेट निर्माणमा बिचौलिया मार्फत कमिसनको खेल भएको, पहुँचका आधारमा योजना छनोट गरिएको र आवश्यकताभन्दा साना तथा टुक्रे योजनामा रकम बाँडिएको उनीहरूको आरोप छ।
सांसदहरूले बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । केही मन्त्री समेत बजेट प्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको बजेटमा पनि विवाद हुँदा सत्ता समीकरण परिवर्तन भएको थियो । अघिल्लो सरकारका कमजोरी सच्याउने र सुशासन कायम गर्ने दाबीका साथ बनेको खगराज भट्ट नेतृत्वको सरकारको बजेटसमेत विवादमा परेपछि बजेट निर्माणको शैलीमा सुधार नभएको भन्दै प्रश्न उठ्न थालेको छ । सरकारले तयार पारेका ४० बुँदे न्यूनतम साझा कार्यक्रम र ९९ बुँदे मार्ग निर्देशन समेत कार्यान्वयन नभएको सत्तारुढ सांसदहरूको आरोप रहेको छ ।