दसैँ–तिहार मनाउन भारतबाट घर फर्किने नेपाली यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सम्भावित सङ्क्रामक रोगको फैलावट रोक्न हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग, एचआईभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी ६ प्रकारका रोगको परीक्षण गरिँदै आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार असोज महिनामा मात्रै ४ हजार ७ सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा दुई जनामा क्षयरोग पुष्टि भएको छ। सङ्क्रमण देखिएका व्यक्तिलाई निःशुल्क उपचारको व्यवस्था मिलाइने जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए ।
भारतबाट दैनिक करिब दुई हजार नेपाली गड्डाचौकी नाका हुँदै स्वदेश फर्किरहेका छन्। यात्रुको चाप बढेसँगै प्रहरीले गड्डाचौकी नाकासहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षा निगरानी समेत बढाएको छ ।