सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयनका लागि आवश्यक प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) सञ्चालनमा आएको छ । बजेट सम्बन्धी विधेयक प्रदेश प्रमुख नजिर मियाँबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि प्रणाली सञ्चालनमा ल्याइएको हो ।
प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार प्रणाली सञ्चालनमा आएसँगै सरकारी कार्यालयहरूले भुक्तानी आदेश दिन थालेका छन् भने कर्मचारीको खातामा तलब पठाउन समेत सुरु गरिएको छ ।
यसअघि प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्नुका साथै कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरिसकेको छ ।