नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पहिलो र दोस्रो संस्करणमा टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थानमा मिसबाहलाई नियुक्त गरिएको सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत जनाएको हो ।
पाकिस्तानका अनुभवी पूर्वब्याटर मिसबाहले आफ्नो खेलाडी जीवनमा ७५ टेस्ट, १६२ एकदिवसीय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको जिम्मेवारीसमेत सम्हालेका थिए।
मिसबाहले नेपाल आउन र सुदूरपश्चिम रोयल्सको प्रशिक्षक बन्न पाउँदा उत्साहित रहेको बताएका छन्। नेपाली समर्थकको क्रिकेटप्रतिको लगावबारे आफूले सुनेको उल्लेख गर्दै उनले छिट्टै नेपालमा भेट हुने बताएका छन्।
मिसबाहको नियुक्ति सँगै सुदूरपश्चिम रोयल्सको आगामी सिजनको तयारी थप चासोको विषय बनेको छ ।