कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलरलाई अनुबन्ध गरेको छ । बायाँ हाते मध्यक्रमका ब्याटर मिलर कर्णालीमा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन् ।
यसअघि कर्णालीले पाकिस्तानका साहिवजादा फर्हान र हुसैन तलातसँगै स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई टोलीमा समेटिसकेको छ । मिलर सहित अरू केही विदेशी खेलाडी पहिलोपटक एनपिएल खेल्दैछन् ।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको अपेक्षा अनुसार विश्व चर्चित खेलाडीलाई टोलीमा भित्र्याउन सफल भएको बताए। मिलरको आगमनले टोलीको उपाधि जित्ने सम्भावना बलियो हुनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्। समग्र टी–२० करियरमा उनले १२ हजारभन्दा बढी रन बनाउनुका साथै आक्रामक ब्याटिङका लागि विश्वभर पहिचान बनाएका छन्। उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबाट खेलिसकेका छन्।
कर्णाली याक्समा मार्की खेलाडी सोमपाल कामीसँगै राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि छन्। टोलीले कर्णाली प्रदेशका खेलाडीसहित अन्य नेपाली खेलाडीलाई समेत अनुबन्ध गरेको छ ।
आठ टोली सहभागी हुने एनपिएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।