धनगढी उप–महानगरपालिकाले २०७८ साल वैशाख ५ गते जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार वैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेकाले जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले स्थानीय तहलाई अनुरोध गरेको थियो ।
सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधिहरू, प्याब्सन, एनब्याब्सनका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरू सँग सुझाव संकलन गरेपछि वैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालयका सम्बन्धमा नेपाल सरकार बाट थप निर्णय भई आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको छ ।
प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भए पनि सम्भव भए सम्म अनलाइन कक्षा सञ्चालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने तथा वार्षिक परीक्षा सञ्चालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि धनगढी उप–महानगरपालिकाले गरेको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरू सँग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफल पछि निर्णयमा पुगेको बताइन ।