मानव शरीरका लागी घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले आइतबार उपत्यकाका ३ वटा सेनिटाइजर उद्योग र तीनवटा गोदाममा छापा मारेको थियो ।
पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरी घर भएका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल र कमल अग्रवाल छन् । सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बालाजु स्थित औद्योगिक क्षेत्रमा रहेको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक र सो उद्योगको ताहाचलस्थित गोदाममा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो ।