डिभिजन बन कार्यालय कञ्चनपुरले बन क्षेत्रमा निगरानी बढाउनका लागि ड्रोन क्यामेराबाट गस्ती गर्ने योजना बनाएको छ । कोभिडको महामारीको समयमा सम्भावित जोखिम न्यूनीकरण गर्न र बन तथा वन्यजन्तुको संरक्षणका लागि ड्रोन क्यामेराबाट गस्ती गर्ने योजना अघि सारिएको डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले बताउनु भयो । बन र वन्यजन्तुको चोरी निकासी तथा तस्करी रोक्नका लागि अहिले भाडामा लिएर भएपनि ड्रोन गस्ती गरिने र पछि त्यसको प्रभावकारिताका आधारमा आवश्यक सङ्ख्यामा डिभिजन बन कार्यालय आफैले ड्रोन क्यामेरा खरिद गर्ने योजनामा डिभिजन बन कार्यालय कञ्चनपुर रहेको छ ।
हालसम्म पैदल, साइकल, घोडा, हात्ती तथा अन्य यातायातका साधनबाट नै गस्ती गरिएको भएपनि त्यसका अतिरिक्त अब प्रविधिको समेत प्रयोग गरी गस्ती गर्ने नौलो अभ्यासका रूपमा डिभिजन बन कार्यालय कञ्चनपुरले योजना अघि सारेको प्रमुख मानन्धरको भनाइ छ । दिवा समयमा ड्रोन क्यामेराबाट गरिने गस्ती चोरी निकासी तथा तस्करी नियन्त्रणका लागि निक्कै प्रभावकारी भएको उहाँले बताउनु भयो । सामुदायिक वन, कर्मचारी, सुरक्षा निकाय सबैको सहयोगमा हालसम्म अतिक्रमण, चोरी निकासी तथा तस्करी धेरै हदसम्म नियन्त्रण गरिए पनि चुरे क्षेत्रसम्म बाटोको असुविधा, प्रतिकुल मौसम तथा अनेक बाधा व्यवधानका कारण अवैध गतिविधि नियन्त्रणमा चुनौती देखिएकोले ड्रोन क्यामेराबाट गस्ती गर्दा सहज हुने उहाँको विश्वास छ ।