प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिएका छन् । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरिरहेको बताइएको छ ।
आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा एमाले बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेको एमालेका नेताहरूले बताएका छन् । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरूसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरू सहमतिमा आएमा उनीहरूलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।
एक एमाले नेताले भने, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खान सक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारद मुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रकोरुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिए ।
सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमालेबृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनु भएमा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ । यसअघि स्वास्थ्य मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका खगराज अधिकारी पनि गृह मन्त्रालयको इच्छा व्यक्त गरेको एमाले स्रोतले बताएको छ ।
नारद मुनी राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमाले भित्र सुरुदेखि नै छ । तर उनले अहिलेसम्म अवसर प्राप्त गर्न सकेका छैनन्। सम्भवतः भोली शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित हुने बुझाई एमाले नेताहरूको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषद्मा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाई छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सूचीकरण गरिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना मन्त्री बनाए पनि उनकै कार्यकालमा अहिले सुदूरपश्चिम प्रदेश मन्त्री विहीन भएको छ। त्यस कारण पनि प्रदेशले एक वा दुई मन्त्री पाउने बताइएको छ । यस्तो अवस्थामा कैलालीबाट राना मन्त्री बन्ने सम्भावना बढि रहेको एमाले स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेको मन्त्रालयमा उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरूलाई समेटेर हिजो शुक्रबार मात्र मन्त्रिपरिषद् विस्तार गरेका छन् ।