कञ्चनपुरको बेलडाँडी गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार चालू आर्थिक वर्षमा जम्मा ३० जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप सोमबार २० जनालाई सहायक सामग्री वितरण गरिएको र बाँकी १० जनालाई असार महिनामा वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनुभयो ।
ती सामग्रीहरू बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की, वडाध्यक्षद्वय अम्मर बहादुर खत्री र प्रेमराज खाती सहितको रोहबरमा गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुभएको छ ।
बेलडाँडी गाउँपालिकाको समावेशी विकास कार्यक्रम अन्तर्गत ४ लाख ६२ हजार रकम र एनएनएसडब्ल्युए कञ्चनपुरको ७३ हजार ९ सय रकम तथा प्राविधिक सहयोगमा सहायक सामग्री वितरण गरिएको गाउँपालिकाका सिविआर सहजकर्ता दिनेश खड्काले जानकारी दिनुभयो ।
ह्वील चियर ६ थान, कृत्रिम खुट्टा १ थान, एल्बोक्रस १० थान, एक्जुलरीक्रस ७ थान वितरण गरिएको छ । त्यस्तै, ट्राई साइकल ३ थान, एमसिआर सुज २ जोर, वाकिङ स्ट्रिक ४ थाज, कृत्रिम खुट्टा ३ थान अब वितरण गरिने बताइएको छ । अपाङ्गताको क्षेत्रमा बेलडाँडी गाउँपालिकाले थुप्रै कार्यक्रम गरिरहेको छ ।