धनगढीमा भएकाे अभिमुखिकरण कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी आफ्ने पार्टीमा रहेको दाबी गरेका छन् । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद चौधरी महन्थ ठाकुरले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह मात्र रहेकाे बाबुरामको भनाइ थियो ।
जसपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, ‘आयोगले सार्वजनिक गरेको सूचीमा रेशमको नाम छैन, उनी जसपामै छन् ।’ रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै उनले संवादका क्रममा पनि रेशमले जसपामै रहेको बताउने गरेको दाबी गरे ।
भट्टराईले कैलालीको टीकापुरमा भएको घटना नितान्त राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने बताए । रेशमको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउँदै उनले जसपाकै पहलमा रेशमको रिहाई हुने बताए ।
‘जसपाले नै रेशम चौधरीको रिहाई गर्न पहल गर्नेछ,’ उनले भने, ‘टीकापुर घटनालाई राजनीतिक रुपमा नै समाधान गर्न पनि हाम्रै पार्टीले पहल गर्नेछ ।’ एमालेले झापामा बन्दुक उठाएको र कांग्रेसले हवाइजहाज कब्जा गर्दा राजनीतिक रुपमा मिलाइएको भन्दै उनले अधिकारका लागि गरिएका आन्दोलनलाई विद्रोह भन्न नमिल्ने तर्क गरे ।