४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरको बेलडाँडी गाउँपालिका साक्षर घोषणा

खबर सम्बाददाता १४ भाद्र २०७८, सोमबार
कञ्चनपुरको बेलडाँडी गाउँपालिका साक्षर घोषणा

 कञ्चनपुरको बेलडाँडी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारको स्वीकृत “साक्षर नेपाल कार्यक्रम” अन्तर्गत १५ वर्ष देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर बेलडाँडी गाउँपालिकामा ९६.९३ प्रतिशत पुगेकोले आइतबार एक कार्यक्रमका बिच बेलडाँडी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले बताउनु भयो । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभापतित्वमा गाउँपालिकाको सभाहल भित्र आयोजित मूल समारोहका बिच जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले साक्षर गाउँपालिका घोषणा भएको उद्घोष गर्नुभयो ।

त्यस क्रममा समन्वय प्रमुख तामाङले कञ्चनपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी अन्तर्गत बेलडाँडी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको बताउनु भयो । यसअघि लालझाडी गाउँपालिकालाई समेत साक्षर गाउँपालिका घोषणा गरिसकिएको स्मरण गराउँदै उहाँले कञ्चनपुरका अन्य सात वटा स्थानीय तहहरूले समेत साक्षर घोषणाका लागि मापदण्ड पूरा गरेपछि कञ्चनपुर जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिने बताउनु भयो । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले स्वागत मन्तव्य राख्दै साक्षर गाउँपालिका घोषणा गरेसँगै त्यसको निरन्तर सुनिश्चितताका लागि गाउँपालिकालाई जिम्मेवारी थपिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा बेलडाँडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भानुभक्त जोशीले प्रतिवेदन पेस गर्नु भएको थियो । साक्षर गाउँपालिका घोषणा कार्यक्रमको औपचारिक समारोहलाई महेश सिंह खत्रीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) बेलडाँडीका अध्यक्ष लक्ष्मण सिंह भाट, नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्क देव जोशी, शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका शाखा अधिकृत रूपराम तिरुवा लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रतिनिधि सहित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

गत असार २७ गते जिल्ला समन्वय समितिको सभाहलमा आयोजित छलफल कार्यक्रममा कञ्चनपुर जिल्लालाई २०७८ चैत महिनाभित्र  पूर्ण साक्षर घोषणा गरिने बताइएको थियो । सोही कार्यक्रममा बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकालाई भदौ २३ गते साक्षर घोषणा गर्ने सम्बन्धित पालिका अन्तर्गत शिक्षा शाखाका प्रमुखहरूले प्रतिबद्धता जनाउनु भएको थियो ।  यद्यपि बेलडाँडी गाउँपालिकाले भने प्रतिबद्धता गरेको मिति भन्दा १० दिन अगावै साक्षर पालिका घोषणा गरेको छ । त्यस्तै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकालाई फागुन महिनाभित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाइएको थियो । 

कोभिड १९ को महामारीका कारण अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् । जिल्ला पूर्ण साक्षरता बनाउन केही सूचक बनाइएको र सो सूचकका आधारमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान तोकिएको छ । सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्य सूचि र बिलको पढाइ, आफ्ना परिवारका सदस्यहरूको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौ सम्मका अङ्कका अक्षर लेखाइ, १ देखि १ सय सम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्ने लगायतका सूचक रहेका छन् । २०७६ साल भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहे पनि कोभिड १९ को महामारीका कारण कार्यक्रम प्रभावित भएको थियो । from NB media

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin