कञ्चनपुरको बेलौरी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरू मध्ये ९ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ । माधव कुमार नेपालको अध्यक्षतामा हालै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादीमा सहभागी हुन चाहने जनप्रतिनिधिहरूका लागि सनाखत गर्ने समय सीमा तोकिएपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू मध्ये ९ जनाले नेकपा एसमा बिहीबार सनाखत गर्नु भएको हो ।
बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार राना, वडा नम्बर ९ का वडाध्यक्ष शमशेर सिंह पेला, नगर प्रवक्ता एवं कार्यपालिका सदस्य विनोद नेपाली, कार्यपालिका सदस्य धन बहादुर सार्की, तुलसी श्रेष्ठ, वडा सदस्यहरू चमरु राना, राजमान चौधरी, रामप्यारी बिक, र सुना देवी दमाईले नेकपा एसमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका नायव सुब्बा भान बहादुर महराले बताउनु भयो । उहाँहरूले नेकपा एसमा सनाखत गरेसँगै नेकपा एसका केन्द्रीय सदस्य उर्वा दत्त पन्तले स्वागत गर्नुभएको छ ।