कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने बताइएको छ । वि.सं. २०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार बेलडाँडीमा आयोजित भेलाले सबै जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने निष्कर्ष निकालेको नेकपा एमालेका नेता पल्लवराज भट्टले जानकारी दिनुभयो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री सहित एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको भेलाले केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । एमाले पार्टीबाट विभाजित भई माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जान चाहने जनप्रतिनिधिहरूलाई निर्वाचन कार्यालयमा गई सनाखत गर्न यही भदौ २२ गतेसम्मको समय सीमा तोकिएको भए पनि हालसम्म बेलडाँडीका कुनै पनि जनप्रतिनिधिले नेकपा एसमा सनाखत गरेका छैनन् ।