प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा आएका छन्। जयवीरसिंहले यसपालि डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्। डडेलधुरा देउवाको गृह जिल्ला हो। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्।
डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्रियाशील सदस्य छन्।
उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम छ। कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए।
‘उहाँको नाम यसपालि क्रियाशील सदस्यको सूचीमा आएको छ,’ उनले ‘क्रियाशील सदस्यताका लागि उहाँको नाम वडाबाटै सिफारिस भएर गएको हो। उनी यसअगाडि कांग्रेसका कुनै पनि भातृ संस्थामा आवद्ध रहेर संगठनमा काम गरेका थिएनन्।