नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरको बेलौरीमा शनिबार भएको नगर अधिवेशनबाट अधिकांश प्यानल सहित बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसको बेलौरी नगर अधिवेशनमा सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि पेपुराम चौधरी र विक्रम चन्दको नेतृत्वका दुई प्यानलमा मतदान भएको थियो । नेपाली काँग्रेसको बेलौरी नगर सभापतिमा निर्वाचित चौधरीले ९० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत प्राप्त गर्नुभयो ।
त्यस्तै दुईदुई जना उपसभापति, सचिव र सहसचिवका लागि चारचार जनाको उम्मेदवारी दर्ता भएको थियो । उपसभापतिमा दीपक सिंह बिष्ट ९६ मत र योगबहादुर चन्द ८६ मत सहित निर्वाचित हुनु भएको छ भने उपसभापति पदका अन्य दुई उम्मेदवारहरू धिरेन्द्र भट्ट ७९ मत र कल्पना कुमारी चौधरी ७४ मतमा सीमित रहनु भयो । सचिवमा कन्हैया राना ८५ मत र भूपेन्द्र बहादुर शाही ८९ मत सहित निर्वाचित हुनु भएको छ । सचिव पदका अन्य दुई प्रत्याशी रामकृष्ण राना ७९ र रेणुका चौधरी ६९ मतमा सीमित रहनु भयो ।
त्यसैगरी, सहसचिवमा राजेन्द्र सिंह राय ८७ मत र नरेन्द्र सिंह बिष्ट ८१ मत सहित निर्वाचित हुनु भएको छ । सहसचिव पदका अन्य उम्मेदवारहरू रामचन्द्र जैसी ७७ मत र नन्दा राना ७३ मतमा सीमित रहनु भएको मतदान अधिकृत जनक बहादुर चन्दले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारी मध्ये चन्द प्यानलबाट नरेन्द्र सिंह बिष्ट सहसचिवमा निर्वाचित हुनु भएको हो भने अन्य सबै निर्वाचित पदाधिकारी चौधरी प्यानलबाट निर्वाचित हुनु भएको हो । महाकाली बहुमुखी क्याम्पसमा भएको मतदान कार्यक्रममा १८२ जना मतदाताहरूले मतदान गरेको मतदान सहायक अधिकृत दीपेन्द्र सिंह रायले बताउनु भयो ।