साफ च्याम्पियनसिपको पहिलो उपाधि उचाल्नबाट नेपाल बञ्चित बनेको छ ।माल्दिभ्सको मादेस्थित नेशनल फुटबल स्टेडियममा शनिबार राति सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिपको फाईनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
भारतको जितमा कप्तान सुािल क्षेत्री,सुरेश सिंह र साहल अब्दुल समादले एक एक गोल गरे ।प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलपछि दोश्रो हाफमा नेपालमाथि भारत निक्कै हावि हुँदै खेलेको थियो ।
खेलको ४८औं मिनटमा प्रितम कोठालको लो क्रसमा सुनिलले हेडर गोल गर्दै भारतलाई शुरुवाती अग्रता दिलाएका थिए ।यो गोलसँगै सुनिलले अर्जेन्टाईन लियोनल मेस्सिको ८० वटा अन्तराष्ट्रिय गोल संख्याको बराबरी समेत गरे ।

लगतै ४९औं मिनटमा याशिरको पासमा सुरेशले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए । यसपछि खेलको ९०औं मिनटमा साहल अब्दुल समादले सुन्दर गोल गर्दै भारतलाई ३–० गोल अन्तरको जित दिलाए ।
पहिलो हाफमा नेपालका नवयुग श्रेष्ठले सातौं मिनटमा पाएको मौका गुमाएका थिए भने १७औं मिनटमा तेज तामाङ्गको क्रसमा रोहित चन्द गोल गर्नबाट चुकेका थिए ।खेलको ७६औं मिनटमा रोहितको हेडर प्रयास क्रसबारमा लागेर बाहिरिएको थियो ।

जितसँगै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।नेपाल पहिलोपटक साफको फाईनलमा पुगेको हो ।
नेपाल लिग चरणको चार खेलमा दुईमा जित,एक बराबरी र एक हारको नतिजाका साथ दोश्रो स्थानमा रहँदै फाईनलमा प्रवेश गरेको थियो ।
यस्तै साफ च्यान्पियन विजेता समेत बनेको भारत लिग विजेताको रुपमा फाईनलमा पुगेको थियो । लिग चरणमा पनि भारतले नेपाललाई १–० गोल अन्तरले हराएको थियो ।
च्याम्पियन बनेका भारतले ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर पाएको छ ।