सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पुर्व सिँचाइ मन्त्री एनपी साउँदले किसानहरुलाई वर्षाका कारण अन्नबालीमा पुर्याएको क्षतिको पूर्ति गर्न सरकारसँग माग गरेका छन्। गृहजिल्ला कञ्चनपुरमा रहेका नेता साउदले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत सरकारसँग किसानहरुलाई क्षतिपूर्ति दिलाउन माग गरेका हुन्।
सुदूरपश्चिम र देशभरि भएको अविरल बेमौसमी वर्षाका कारण गम्भीर रुपमा धनजनको क्षति भएको र महाकाली र सेती नदी तथा अन्य प्रमुख नदीहरुको जलस्तर खतराभन्दा माथि पुगेको उनले उल्लेख गरेका छन्। ‘महाकाली पारीको दोधारा–चाँदनीमा बाढीको थप जोखिम बढेको छ। सेती नदीले बैतडीको सिगास गाउँपालिकामा घरबस्ती बगाउनुका साथै केही मानिसहरू अहिलेसम्म बीच नदीको भू–खण्डमा उद्धारको प्रतीक्षामा छन्,’ नेता साउदले भनेका छन्।
किसानले प्रमुख अन्नबाली धान भित्र्याउने बेला वर्षाले अन्नबालीमा क्षति पुगेको र निरन्तरको वर्षाले बाढीको थप जोखिम बढेको उनले उल्लेख गरेका छन्। ‘यस्तो बेलामा सरकार, प्रशासन र अन्य सम्बन्धित निकायहरुमा तत्काल उद्धार, राहत, क्षतिपूर्ति र पुनर्निर्माणका लागि ध्यानाकर्षण गर्दछु,’ नेता साउदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।