नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाका क्रममा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। बुटवलको बालमन्दिरमा मतगणना जारी रहँदा दुई गुटबीचको विवाद उग्र हुँदै झडप भएको हो।
झडपमा रामचन्द्र पौडेल पक्षका महाधिवेशन प्रतिनिधि उम्मेद्वार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते भएका छन्। सभापति शेरबहादुर देउवा समूहले केसीमाथि आक्रमण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप छ।
गम्भीर घाइते केसीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। आक्रमणबाट उनको टाउको र मुखमा चोट लागेको छ।
मतगणनामा पौडेल समूहका उम्मेद्वारहरूले अग्रता लिएका थिए। आक्रमणपछि अहिले मतगणना स्थगित भएको छ।
गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला समेत रहेको रुपन्देहीमा यसअघि निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद बढेर झडप हुँदा क्षेत्रीय सचिवका उम्मेद्वार शैलेश पन्तसहित ५ जना घाइते भएका थिए।
from pahilo post