कञ्चनपुरको बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिरले माघी विशेष गायन प्रतियोगिता २०७८ का विजेतालाई सम्मान गरेकाे छ । शनिबार न्यू आराधना कला मन्दिरको आयोजनामा धनगढीमा एक औपचारिक कार्यक्रमका बिच पुरस्कार वितरण तथा सम्मान गरिएको हो ।
माघी विशेष गायन प्रतियोगिता २०७८ मा सहभागी क्रमशः प्रथम हुने लालझाडी गाउँपालिका–०२ कञ्जकी लक्ष्मी राना, द्वितीय हुने बेलौरी–०५ भकुण्डाकी सीता राना र तृतीय हुने पुर्नवास नगरपालिका परासनका हरि राना भएका थिए । गायन प्रतियोगितामा प्रथम १० हजार द्वितीय ६ हजार र तृतीय ३ हजार नगद र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले बताए । प्रमुख रानाले गाउँका कुनाकान्द्रामा आफूभित्र लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न गायन प्रतियोगिता सञ्चालन गरिएको बताए ।

प्रतियोगितामा सहभागीहरुका गित पेजमा अपलोड गरिएको थियो । सबैभन्दा बढि लाईक, भ्यु, र सेयरको आधारमा छनौट गरिएको थियो । प्रतियोगितामा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र तथा स–सम्मान गरिने आयोजकले जनाएको छ । न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय कलाकार महेश नेपाली (आरोहा) रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि नरेन्द्र राना रहनुभएका थिए ।
कार्यक्रमका अतिथि राना थारु समुदायको कलाकारका अभिभावक एवं अगुवा रामदेव राना, राजधानी कला केन्द्र महेन्द्रनगरका जनक कुँवर रहेका हुन् । भने स्वागत मन्तब्य गायिका अनुश्रृया राना राखेका थिए ।