रानाथारु समुदायले अरु भन्दा फरक तरिकाले मनाउँछ होरी (होली) । होरी सबै भन्दा ठूलो पर्व हो । रानाथारु समुदायले ३८ दिन होरी मन्ने गर्छन् । माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि होरी सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिउँदा) होरीे जुन रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्को दिनलाई टिका भनिन्छ । टिकाका दिन गाउँ भरिका मानिसले होरी जलेर भएको खरानी को टिका लगाउँछन् । यसरी टिका लगाउँदा सुस्वास्थ्य हुने । रोग नलाग्ने तथा दिर्घायु हुने जन विश्वास छ ।

टिकाको दिन देखि ८ दिन सम्म मरी होरी (मरेको होरी) खेल्छन् । मरी होरी रातमा र दिनमा पनि खेल्न पाईन्छ । टिकाको आठौँ दिन नै खख्डेहरा हो । खख्डेहरा भनेको होरीको बिदाईको दिनका रुपमा लिइन्छ । खख्डेहराका दिन बिहानै उठेर गाउँ भरीका मान्छेले खख्डेहरा फुटाउन जाने गर्दछन । खख्डेहरा फुटाउन जादा गाग्रो,खपटेनका टुक्रा, माटोको मट्याङग्रा,अन्न, शुद्ध पानी, कन्डी (सुकेको गोबर) आदी चाहिन्छ ।

खख्डेहरा गाउँ भन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एक जुट पारी चाकर (गाउँको चौकीदार)ले फुटाउने चलन छ । खख्डेहरा फुटाइ सके पछि घर आइन्छ र आउने बेलामा खख्डेहरालाई फर्केर नहेर्ने चलन छ । फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भनेर रानाथारु पूर्खाको भनाई छ । भिडियाे हेर्न https://www.youtube.com/watch?v=WehIY7rGYGo