धनगढीबाट गएको ज्येष्ठ नागरिकको टोली मुक्तिनाथ पुगेको छ। धनगढी उपमहानगरपालिकाले तीर्थ यात्राका लागि एक सय बढी ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगेको हो । वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय ४० जना ज्येष्ठ नागरिकलाई बिहीबार मुक्तिनाथ धाम धार्मिक तीर्थ भ्रमणमा लगेको हो ।
उनीहरूलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरूले संयुक्त रूपमा तीर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाइ गरेका थिए ।
सो टोली आज शनिवार मुक्तिनाथ पुगेको लक्ष्मीनारायण मन्दिरका हरि प्रसाद न्यौपानेले बताए । नगर प्रमुख हमालका अनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरूलाई पनि भ्रमणमा समेटिएको छ ।
उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकाश प्राप्त गर्ने कर्मचारीहरू पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गरेको छ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले बताएको छ ।