कञ्चनपुरको बेलडाँडीमा स्थानीय सरकारले अवैध संरचनामाथि डोजर लगाइएको छ । बेलडाँडी गाउँपालिकाले ग्रिन बेल्ट भित्र निर्माण भएका दर्जनौँ अवैध संरचनामाथि डोजर लगाएको हो ।
चालु आर्थिक वर्ष २०७९/०८०मा१५ शय्याको अस्पताल निर्माणका लागि बेलडाँडी गाउँपालिकाले छनौट गरेको स्थानमा निर्माण भएका अवैध संरचना हटाएको छ । विगतमा कृषि कार्यालय रहेको भवन सहितका १२ घर, गोठ, पसल भत्काएको हो ।
बेलडाँडी गाउँपालिकाले अस्पताल निर्माणका लागि छनौट गरेको सरकारी जमिनमा बनाइएका घर, टहरा सहितका संरचना भत्काएको छ । बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले दुई पटक सूचना जारी गर्दा समेत अस्पताल निर्माण स्थल खाली नगराएपछि डोजर नै लगेर भत्काएको बताए ।
१५शय्याको अस्पताल निर्माणका लागि झण्डै १ बिगा १७ कट्टा जमिन क्षेत्रफलमा अस्पतालको भवन, पार्किङ, क्यान्टिन, शव गृह सहितका संरचना निर्माण हुनेछन् । अस्पताल निर्माणका लागि बङगामुखी बैजनाथ जेभीले अस्पताल निर्माणमा ६ मङ्सिरमा सम्झौता गरेको छ ।
अस्पताल निर्माण क्षेत्र खाली भएसँगै कम्पनीले अस्पताल निर्माण गर्नेछ ।उक्त स्थान ओगटेर बसेका मध्ये दुई परिवार वास्तविक सुकुम्वासी भएकाले उनीहरूको पालिकाले अस्थायी रूपमा बसोबास व्यवस्था मिलाउने गाँउप्रमुख रानाले बताए ।