कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययनरत दिनेश बिष्टले इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका छन ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का दिनेश करिब १ लाख खर्च गरेर घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन् ।
उक्त मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेम राज ओझाले लन्चिङ गरे । मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव बढाएकोमा प्रसंसा गरे ।
उनले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेयसन संगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए । मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए । उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङ्की र पुराना स्कुटरका टायर प्रयोग गरेका छन । उक्त मोटरसाइकल निर्माणका लागि २ हप्ताको समय लागेको उनले बताए ।
उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन । ४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेका ७५ देखि ८० किलोमिटर गुड्ने छ ।मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए । उनले एकपटक चार्ज गर्न २ युनीट विद्युत खर्च हुने बताए ।