कञ्चनपुरको बेलडाँडीमा हुने क्रिकेट मेलाको ट्रफी सार्वजनिक गरिएको छ । बेलडाँडी युवा समाजले मंगलबार पत्रकार सम्मेलन मार्फत ट्रफी सार्वजनिक गरेको हो । शुभ दीपावलीको अवसरमा यही कार्तिक १७ देखि २५ गतेसम्म क्रिकेट प्रतियोगिता गर्न लागेको बेलडाँडी युवा समाजका अध्यक्ष दिनेशराज भट्टले जानकारी दिनुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित रौलेश्वर माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । युवाहरूलाई लागु औषधबाट मुक्त गराई खेल क्षेत्रमा आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले पुरस्कार स्वरूप नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जनाएको छ । बेलडाँडी गाउँपालिकाको संरक्षकत्वमा बेलडाँडी युवा समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा वडा नम्बर २ को कार्यालयले सह आयोजकको भूमिका निर्वाह गर्ने कोषाध्यक्ष रेणु भट्टले बताउनु भयो ।
बेलडाँडी युवा समाजले पहिलो पटक टी-२० बेलडाँडी क्रिकेट मेला आयोजना गर्ने तयारी गरेको हो । बेलडाँडी युवा समाजका सचिव बवुल राज भट्टले टिम दर्ताका लागि रु. ४ हजार ५ सय शुल्क लाग्ने र टिम दर्ता जारी रहेको बताउनु भएको छ । खेलाडीहरू कञ्चनपुर क्षेत्र नं. १ का हुनु पर्नेछ र एउटा टिममा बढीमा २ जना मात्र कञ्चनपुर क्षेत्र नं. १ भन्दा बाहिरका नेपाली खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । टिम दर्ता गर्दा १५ जना खेलाडी र १ जना टिम मेनेजरको नाम अनिवार्य रूपमा दिनुपर्ने भनिएको छ । खेल क्रिकेटको अन्तर्राष्ट्रिय नियम अनुसार र टेनिस बलले खेलाइने, प्रत्येक खेलमा बल आयोजकबाट किन्नु पर्ने, खेल पोसाक अनिवार्य रूपमा हुनुपर्ने, ७ खेल नक आउट सिस्टमद्वारा खेलाइने, सहभागी टिमले खेलाडीको प्रमाण खुल्ने परिचय पत्र अनिवार्य उपलब्ध गराउनु पर्ने, आफूलाई चाहिने आवश्यक सामग्री स्वयं आफैले व्यवस्था गर्नु पर्ने लगायतका प्रावधान आयोजकले निर्धारण गरेको छ । अनुशासित टिमलाई उचित पुरस्कारको व्यवस्था गरिने, प्रत्येक खेलमा मेन अफ द म्याच, मेन अफ द सिरिज, वेस्ट ब्याट्सम्यान, वेस्ट बलरलाई पुरस्कारको व्यवस्था गरिने र खेलमा कुनै विवाद आएमा अन्तिम निर्णय आयोजकको हुने जनाइएको छ ।
बेलडाँडी गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार र सहभागी खेलाडी युवाहरूले राखेका जिज्ञासाहरूलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले क्रिकेट सहित खेलकुदका अन्य गतिविधिहरूलाई चलायमान बनाउन गाउँपालिकाले उपयुक्त खेलकुद मैदानको व्यवस्थापन गर्ने आश्वासन दिनुभयो । उहाँले खेलकुद विकास समितिलाई क्रियाशील बनाउन छलफल गरिरहेको समेत बताउनु भयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले लागु औषध दुर्व्यसनी लगायतका कुलतबाट युवाहरूलाई जोगाउन खेलकुदका गतिविधिको महत्त्वपूर्ण भूमिका रहने भएको हुँदा त्यसतर्फ गाउँपालिकाले योजना बनाउने उल्लेख गर्नुभयो । बेलडाँडीको सर्वाङ्गीण विकासका लागि उहाँले सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ ।