कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याइएपछि कैलालीका जनमानसमा असंतुष्टी बढेको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई शत प्रतिशत सरकारी लगानी हुनेगरि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाइएसँगै विरोध हुन थालेको हो।
एकातिर क्याम्पसमा कार्यरत कर्मचारीको निहित स्वार्थ पूर्तीको लागि समाहित गरिएको हो भन्ने आरोप लागेको छ भने, अर्कोतिर विद्यार्थीहरूका लागि प्राविधिकतर्फका शिक्षाको अध्यापन गराउन समाहित गरिएको बताइदैँ आएको छ।
विगत ४ दशकदेखि सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा ख्याति प्राप्त कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक हुनेगरि सम्झौता भएको हो।
धनगढीका स्थानीय एवम् नागरिक अगुवा रविनकान्त पन्तले गुणस्तरिय शिक्षा, पर्याप्त भौतिक पुर्वाधार, सस्तो शुल्क र सुविधाजनक अवस्थितिले आफैमा उत्कृष्ट कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समाहित हुनु दुर्भाग्यपूर्ण भएको बताए। क्याम्पसमा कार्यरत कर्मचारीहरको सुविधा र निहित स्वार्थ पूर्तीको लागि मात्र समायोजन गरिएको उनको आरोप छ।
नागरिक समाज अगुवा प्रमोद पाठकले सुदूरपश्चिम विश्वविद्यालयबाट आउने सर्टिफिकेट कति बिक्ने ? र शैक्षिक सत्रको आधा अवधिभन्दा बढी तालाबन्दी र हड्ताल भइरहने विश्वविद्यालयमा समाहित भएपछि विद्यार्थीको भविष्य के हुने भनेर चिन्ता व्यक्त गरे।
उनले गुणस्तरीय शिक्षाको हिसाबले सुदूरपश्चिम विश्वविद्यालयभन्दा ठूलो हैसियत राख्ने कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउदा त्यहाँका कर्मचारीलाई फाइदा भएपनि विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिएको बताए।
सुदूरपश्चिममा कैलाली बहुमुखी क्याम्पसको आफ्नै छवि बनिसकेको छ। यस क्याम्पसबाट उतिर्ण गरेका धेरै विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित पनि भइसकेका छन्।
क्याम्पसका पूर्व विद्यार्थी कमल जोशीले आफ्नो छुट्टै गरिमा र प्रतिष्ठा स्थापित गरिसकेको कैलाली बहुमुखी क्याम्पसलाई भर्खरै स्थापना भएको विश्वविद्यालयमा समायोजन गरिँदा विद्यार्थीको भविष्य नै धरापमा पर्ने बताए। लक्षित वर्गसँग छलफलनै नगरि कर्मचारीहरूको चाहना अनुरूप समायोजन गरिएको आरोप लगाए।
विसं २०३७ सालमा सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको यो क्याम्पस कैलाली कमर्श क्याम्पसको नामले स्थापना गरिएको थियो। सुरूवाती दिनहरूमा व्यवस्थापन संकायमा मात्र अध्यापन हुँदै आएको यस क्याम्पसमा पछिल्लो दिनहरूमा व्यवस्थापन सँगै शिक्षा, मानविकी तथा विज्ञान संकायको समेत अध्यापन भइरहेको थियो।
बहुमुखी क्याम्पसका पूर्वअध्यक्ष घनबहादुर शाहले क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समाहित भएपछि प्राविधिकतर्फका शिक्षा जस्तै इन्जिनीयरिङग, नर्सिङ्ग र कृषिलगायतका विषयमा समेत सस्तो शुल्कमा अध्यापन गराउन सकिनुका साथै आफ्नै नजिकको विश्वविद्यालयबाट प्राविधिक विषयहरू पाउन सजिलो हुने बताए।
शिक्षाको गुणस्तर यहाँका शिक्षककै हातमा रहेकोले समायोजनपछि गुणस्तरमा कुनै प्रभाव नपर्ने उनको भनाई छ। source :DK